बाढीपहिरोमा परी हालसम्म २३३ जनाको मृत्यु, २२ जना बेपत्ता

१७ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको गृहको भनाई

काठमाडौ । हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ ।

विपदमा परेर बेपत्ता रहेका २२ जनाको खोजी कार्य जारी रहेको पनि उनले बताए। मुलुकभर गरी एक सय ६९ जना घाइते रहेको र विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताएका छन्।

काठमाडौं उपत्यकाबाट दुई हजार एक सय ५८, कोशी प्रदेशबाट ९० जना, मधेसबाट ३५ जना, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको गृहको भनाइ छ।नेपाली सेनाको हेलिकप्टरबाट वृद्धवृद्धा तथा बालबालिकाहरूलाई उद्धार गरिएको उनले बताए।
 

प्रतिक्रिया