गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा

गोरखा ।  गोरखा दरबारको दशैं घरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ । 

नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबार स्थित दशैं घर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ बजेर १६ मिनेटको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिने । 

परम्परा अनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठा बाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार चार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”

यहाँ जमरा राखे पछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा शुरु भए सँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

बडा दशैंमा टीका सँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीका सँगै लगाउने गरिन्छ ।
रासस 

प्रतिक्रिया