बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

ललितपुर । ललितपुरको लगनखेल बाट सडक यात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिन अघि सम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दह बाट घट्टे खोला सम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार राति देखि परेको पानी पछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उनी भन्छन् । 

दशैं अघि थन्क्याइ सक्ने तयारी गरिएको धान बाली सहित उब्जाउ हुने खेत बगरमा परिणत भए पछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनी जति खेत थियो भन्छन्, वडाध्यक्ष नारायण भोम्जन । “धान सहित खेत लगिहाल्यो, सबै तिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजान सक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो । सबै तिर बेहाल छ”, अध्यक्ष भोम्जनले भने,“वडामा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जन जति निजी घरमा क्षति पुगेको छ ।”

बागमती गाउँपालिकाको वडा नं १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरू वडा मध्ये आश्रङले धेरै क्षति ब्यहोर्नु परेको छ । अविरल वर्षा सँगको बाढीले वडा नं ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिका बाट वडा कार्यालय सम्म पुग्ने सडक ५० भन्दा बढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर तथा यहाँको झोलुङ्गे पुल खोलाले बगाएको छ ।

यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन बनेका छन् । विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नु परेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ । 

यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकप्टको प्रयोग बाध्यात्मक बनेको छ । त्यसैले त आइतबार र सोमबार हेलिकप्टर बाट प्युटार र गोटिखेल बाट बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो । बुधबार हेलिकप्टरबाट राहत सामग्री यहाँ ल्याइएको थियो । “लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युतका खम्बाहरू ढलेका छन् । जसका कारण पाटन बाट गाउँपालिका सम्म आउन असहज भएको छ”, महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भने ।

बाढीपहिरो बाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । “अहिले तीनपाने भञ्ज्याङ सम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्यौँ, अब छपेली सम्म सफा हुन्छ”, उनले भने ।

ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३ दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी गराए । “पालिका भित्र ४० घर बगाएको र पुरिएको छ, वडा नं २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नं १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ”, उनले भने । 

दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढी पहिरोेमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताए । “बाढी पहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, यहाँ शुक्रबार देखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सकेका छैनन् ”, उनले भने ।
रासस 

प्रतिक्रिया