बाढी पहिरोमा परी सेनाका एक अधिकृत सहित ३ जनाको निधन

काठमाडौं । केही दिन अघि परेको अविरल वर्षा सँगैको बाढी पहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृत सहित ३ जनाको निधन भएको छ ।

प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिन अघि निधन भएको सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । 

वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढी पहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढी पहिरो बाट सेनाका केही व्यारेकमा क्षति भएको  जनाइएको छ । 

बाढी पहिरोका घटना लगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रासस 

प्रतिक्रिया