नेपालीको महान् पर्व बडा दशैं शुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैं आज (बिहीबार) बाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने बडा दशैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत आज बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । 

नदी वा चोखो स्थल बाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैं घरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजा सँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ ।  

यस्तै, असोज २६ गते शनिबार टिकाको दिन परेको छ । टिका ग्रहणको शुभ साइत भने ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म चल्ने पर्व दशैंलाई असत्य माथि सत्यको विजयका रूपमा लिने गरिन्छ । 

घटस्थापनाको दिन पूजाकोठा, दशैं घर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथि पटि आँप, चाप, वर पिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँ बाट ल्याइएको चोखो बालुवा या माटोमा जमरा छरिन्छ ।

त्यही नजिकै थाली माथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिन सम्म पूजा गर्ने गरिन्छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँ बाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । 

घटस्थापना देखि नवरात्र भरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।

प्रतिक्रिया