शेयर बजार उच्च अंकले बृद्धि

मौद्रिक नीति सार्वजनिक भएको दिन आज शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अंकले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको हो । बजार बढेसँगै नेप्से छ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।  यसअघि पुस २८ गते नेप्से २२ सय ३७ विन्दुमा पुगेको थियो । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । आज एक करोड २० लाख दुई हजार कित्ता शेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् । आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको हो । बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
 

प्रतिक्रिया