सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि स्वास्थ्य मन्त्री द्वारा सर्वपक्षीय छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्पछि फैलन सक्ने सङ्क्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीसँग बुधबार छलफल गरेका छन् । 

मन्त्रालयमा भएको विशेष बैठकमा उनले बाढी, पहिरो पछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेङ्गु लगायत सङ्क्रामक रोग लाग्न नदिन आआफ्नोतर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग गर्न आग्रह गरे । 

बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे । 

बैठकमा बाढी, पहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोसी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै खानेपानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।   

मन्त्री पौडेलले दुईवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाउनुभयो । उनले सङ्घीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर सङ्क्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए  । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने उनको भनाई छ । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानीका स्रोत प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै शुद्धीकरणका उपाय अपनाइ खानेपानी वितरण गरिरहेको जानकारी गराए । 

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य मन्त्रीको निर्देशन अनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा सङ्क्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया