एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ । बुधबार भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३–० सोझो सेटमा पराजित गरेको हो । बुधबारको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५–२२ अङ्कले पराजित गर्यो । दोस्रो सेट पनि २५–२२ अङ्कले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अङ्कले हरायो ।
कर्णालीले यस अघि मधेस युनाइटेडलाई ३–१ र गण्डकी थन्डर्सलाई ३–२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अङ्क जोडेको छ । तीन खेल खेलेको ललितपुरको ६ अङ्क छ । प्रतियोगितामा ललितपुर पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३–१ सेटले हराएको थियो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
प्रतिक्रिया