राष्ट्र बैंकद्धारा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक(पुर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दरमा सामान्य लचकता अपनाए पनि शेयर बजार र घरजग्गा कारोबार सम्बन्धि नीतिलाई निरन्तरता दिएको हो । घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्थालाई कायम राखिएको हो । पहिलो घर खरिद गर्ने व्यक्तिलाई दिने भने ऋणको सीमा २ करोड रुपैयाँ पु¥याइएको छ । तर, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिले बताएको छ । त्यस्तै,राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दरमा सामान्य घटाएको छ । आन्तरिक तथा वाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । चालु वर्षको मौद्रिक नीतिले अनिवार्य नगद मौज्दात ४ प्रतिशत, १२ प्रतिशत रहेको वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने नीतिमा व्यवस्था छ । भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जानेलाई २५ सय अमेरिकी डलरसम्म उपलब्ध गराइने भएको छ । बैंकिङ्ग क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न विद्यमान बैंकिङ कसुर ऐन २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने बताएको छ । सम्पती शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु जारी गरिने तथा सम्बन्धित कानूनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै,राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ ।  मौद्रिक नीतिको कार्यदिशा चालू आर्थिक वर्षको अर्थतन्त्र चलायमान बनाउने गरी ल्याइएको राष्ट्र बैंकले बताएको छ । मूल्य र बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो नीति लिइएको केन्द्रीय बैंकको भनाइ छ ।।

/p>

 

 

 

प्रतिक्रिया