आशिष देउला (सुगर ड्याडी) सहित ४ जनालाई थुनामा पठाउन आदेश

काठमाडौं। जिल्ला अदालत काठमाडौँले आशिष देउला  उर्फ ‘सुगर ड्याडी’ सहित ४ जनालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीले उनीहरुलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।
अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका उनिहरुलाइ अदालतको आदेशपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित  उदयपुरको त्रियुगा नगरपालिक–१२ घर भएका २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई भदौ १८ मा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध दुई युवाले जाहेरी दिएका थिए । अर्की एक युवती पनि पीडित भएको बताए पनि उनले जाहेरी नदिएपछि दुई जना मात्रै पीडित भएको उल्लेख गर्दै मुद्दा दायर भएको थियो ।एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जना प्रतिवादी बनेका थिए । दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाई भएको थियो ।

उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो ।

सामाजिक सञ्जालमा सुगर ड्याडीबाट परिचति देउलाको समूहले युवा युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो । प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाव, यातना दिन प्रयाग भएका आइरन लगायतका सामानहरु बरामद गरेको थियो ।

प्रतिक्रिया