सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ:  सञ्चार मन्त्री गुरुङ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् । 

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) मा बुधबार आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्य–२०३० को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ्ने बताए । 

मन्त्री गुरुङले सञ्चार आधुनिक शासनको मुटुमा भएकाले नागरिकसम्म वास्तविक समयमा जडान गर्न, तथा सूचना प्रविधि मार्फत जानकारीलाई प्रभावकारी रूपमा साझा गर्न तथा थप पारदर्शी रूपमा सेवाहरू प्रदान गर्न सक्षम बनाउने बताए ।  

मन्त्री गुरुङले मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिको चरणमा रहेको बताए । 

कार्यक्रममा केयुका उपकुलपति प्रा. डा. भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई अवसरमा बदल्ने चुनौती प्रमुख विषय रहेको बताए । युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक अरविन्द सिंघल, सिघुवा विश्वविद्यालयका प्राध्यापक लि सिग्वाङ, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोण्डा रवीन्द्रनाथ सहभागी थिए ।  

प्रतिक्रिया