ललिता निवास जग्गा प्रकरण: नापी विभागका कर्मचारी सीआईबीको नियन्त्रणमा

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सो प्रकरणमा आरोपी अरुणकुमार श्रेष्ठलाई आज पक्राउ गरेको हो । ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनीविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । श्रेष्ठ नापी विभागका पूर्वकर्मचारी हुन् । यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ । सीआईबीले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो ।  सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजालाई पुनः पक्राउ गरिएको थियो । देउजा २०४९ सालमा मालपोत कार्यालयका प्रमुख थिए । ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ । सीआईबीले उनीहरु विरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।
 

प्रतिक्रिया