बाढीले विद्यालय डुबेपछि प्रतीक्षालयमा पठनपाठन

तनहुँ । देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा परेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन गराएको हो ।

विद्यालय भवनभित्र बाढी पसेर कुनै पनि कोठामा तत्काल पठनपाठन गर्न सम्भव नभएपछि विद्यालय नजिक रहेको प्रतीक्षालयमा राखेर पढाइरहेको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए । उनले भने, “वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले विद्यालय भवनमा क्षति पुगेको छ । विद्यालयमा पठनपाठन सम्भव नभएपछि प्रतीक्षालयको सहारा लिएका छौँ ।”

वाग्लेका अनुसार प्रशासनिक कक्षमा रहेका सबै सामग्री नष्ट भएका छन् भने कक्षा कोठाका टेबल, कुर्सी, खाना पकाउने भाडा, शैक्षिक सामग्रीमा बाढीले क्षति पुगेको छ । उक्त विद्यालयमा १४ विद्यार्थी अध्ययनरत रहेका छन् । नदी किनारमा विद्यालय भएकाले बाढी आउँदा जोखिममा परेको प्रअ वाग्लेले बताए । उनले भने, “सुरक्षित रुपमा विद्यालय सञ्चालन गर्ने हो भने विद्यालय स्थानान्तरणको विकल्प छैन ।”

प्रतिक्रिया