सर्लाहीकाे बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

सर्लाही । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् ।  लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारा लगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९०  घर पूर्ण रुपमा नष्ट भएको छ भने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउ लगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जनाकारी दिए । 

बलरा नगरपालिकाको ११  वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छभने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राहत पुर्‍याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए । 

यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छभने ३३० घर डुबानमा परेको छ ।  जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छभने १९० घर बाढीले डुबानमा पारेको छ । बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घर डुबानमा परेको छ । 

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पु¥याएको छभने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन् । चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छभने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 

जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रुपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छभने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए । बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्‍याएको छ भने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याइ दिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरुले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे । 

बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय सङ्कटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताए  ।

रासस  

प्रतिक्रिया