इरानले दियो अमेरिकालाई चेतावनी,इजरायलले हिजबुल्लाह बिरुद्ध लड्न थप सेना पठायो

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गर्नुअघि अमेरिकासँग कुनै संवाद नगरेको बताएका छन् । 

इरानले इजरायलमाथि आक्रमण गरेपछि उनले यस्तो बताएका हुन् । इरानले इजरायलमाथि गरेको हमलामा हस्तक्षेप नगर्न पनि अराघचीले अमेरिकालाई चेतावनी दिएका छन् । 

’आक्रमणअघि कुनै सन्देश आदानप्रदान भएको थिएन,’ अराघचीले सरकारी टेलिभिजनसँग भने, ’आक्रमणपछि भने इरानले अमेरिकासँग कुराकानी गरेको थियो।“ अमेरिकी सेनालाई यस मामिलाबाट पछि हट्न र हस्तक्षेप नगर्न चेतावनी दिइएको छ,’ अराघचीले भने, ’इरानले राजधानी तेहरानस्थित स्विस दूतावासमार्फत यो सन्देश अमेरिकालाई प्रवाह गरेको हो । मंगलबार राति इरानले इजरालमाथि १ सय ८० वटा रकेट प्रहार गरेको थियो । तर त्यसलाई इजरायलले  आकाशमै रोकेको थियो । तर केही रकेट इजरायली भू–भागमा खस्दा इजरायली नागरिकको घरहरुमा क्षति भने पुगेको छ । 

यसैबीच इजरायलले हिजबुल्लाहसँग लड्न थप सैन्य बल लेवनान पठाएको छ ।  इरानले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या सहित आफ्ना सहयोगीहरू विरुद्ध इजरायलको “आक्रामक कार्यहरू“ को जवाफमा आफ्नो पछिल्लो आक्रमण “आत्मरक्षा“ को कार्य भएको बताएको छ । 

हिजबुल्लाहका एक  एक शीर्ष सैन्य कमाण्डरले इजरायलले इरानमाथि आक्रमण गरेमा इजरायलको पूर्वाधारलाई लक्षित गर्ने गरी आफूहरुले आक्रमण गर्ने धम्की दिएका छन्।इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध हवाइ आक्रमण गरिरहेकोमा मंगलबारदेखि  जमिनबाट आक्रमण शुरु गरेको छ ।  

संयुक्त राष्ट्र संघ र ईयूले हिजबुल्लाह र इजरायललाई युद्धविरामको लागि आह्वान दोहो¥याएका  छन् । 
गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ ।

हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि रकेट आक्रमण गर्ने गरेको छ । इजरायली आक्रमणमा इरानको समर्थन पाएको  हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले  हिजबुल्लाहलाई सघाउन इजरायलमाथि  मिसाइल प्रहार गरेको हो । इजरायल र हिजबुल्लाहको आक्रमणमा इरान पनि सामेल भएपछि अब मध्यपूर्वमा युद्ध थप चर्किने आशंका गरिएको छ ।
 

प्रतिक्रिया