दशैं लक्षित बजार अनुगमन शुरु

काठमाडौं । सरकारले दशैं, तिहार र छठ जस्ता चाड पर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशाला सहित बुधबार देखि बजार अनुगमन सुरु गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार देखि दुई वटा मोबाइल भ्यान सहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्ला भित्र बजार अनुगमन सुरु गरेको हो । 

बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भने, “सरकारको तर्फ बाट खरिद भएर ल्याए पछि विभिन्न कारणले छ÷सात वर्ष देखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, बुधबार देखि दशैं, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौं ।”

मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुई वटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिम बाट सञ्चालनमा ल्याइने जानकारी दिए ।  । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए । 

पछिल्लो समय भएको बाढी पहिरो र डुबानले सबै भन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यस बाट करिब  छ अर्ब भन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषद्मा छलफल भएको बताउँदै चाँडो भन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताए । 

मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबार देखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दशैं अगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाए ।
रासस

प्रतिक्रिया