झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिदै, आलोपालो गरी सवारी चलाइँदै

धादिङ  । धादिङ र काठमाडौंको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । 

तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुन सक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।

झन्डै दुई सय मिटर माथि बाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुई वटा माइक्रो बस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए । 

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर बुधबार बिहान पहिरोको गेग्य्रान पन्छाए पछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुई तर्फी सडक खुलाइएको छ । सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौंं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको वर्षत सँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।
रासस 

प्रतिक्रिया