इजरायलले इरानलाइ दियो चेतावनी, इजरायल माथिको आक्रमण“ठूलो गल्ती”

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र प्रहारलाई “ठूलो गल्ती“ भनेका छन् । 

इरानले इजरायलमाथि मंगलबार धेरै ब्यालेस्टिक मिसाइलहरु प्रक्षेपण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई रोकेको थियो । इरानको मिसाइल आक्रमणलाइ लिएर  नेतान्याहुले यसलाई इरानले गरेको ठूलो गल्ती र त्यसको क्षतिपूर्ति लिएरै छाड्ने चेतावनी दिएका छन् । इजरायली सेनाले इरानबाट १८० वटा क्षेप्यास्त्रहरू प्रहार गरिएको बताएको छ, जसमध्ये अधिकांशलाई रोकिएको थियो ।

अमेरिकाले इरानले इजरायलतर्फ प्रक्षेपण गरेको “धेरै मिसाइलहरू रोकेको“ पुष्टि गरेको छ  र इजरायलसँग निकट सम्पर्कमा रहने बताएको छ। इरानले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या सहित आफ्ना सहयोगीहरू विरुद्ध इजरायलको “आक्रामक कार्यहरू“ को जवाफमा आफ्नो पछिल्लो आक्रमण “आत्मरक्षा“ को कार्य भएको बताएको छ । 

हिजबुल्लाहका एक  एक शीर्ष सैन्य कमाण्डरले इजरायलले इरानमाथि आक्रमण गरेमा इजरायलको पूर्वाधारलाई लक्षित गर्ने गरी आफूहरुले आक्रमण गर्ने धम्की दिएका छन्।इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध हवाइ आक्रमण गरिरहेकोमा मंगलबारदेखि  जमिनबाट आक्रमण शुरु गरेको छ ।  

संयुक्त राष्ट्र संघ र ईयूले हिजबुल्लाह र इजरायललाई युद्धविरामको लागि आह्वान दोहोर्‍याएका  छन् । 
गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ ।

हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि रकेट आक्रमण गर्ने गरेको छ । इजरायली आक्रमणमा इरानको समर्थन पाएको  हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले  हिजबुल्लाहलाई सघाउन इजरायलमाथि आक्रमण मिसाइल प्रहार गरेको हो । इजरायल र हिजबुल्लाहको आक्रमणमा इरान पनि सामेल भएपछि अब मध्यपूर्वमा युद्ध थप चर्किने आशंका गरिएको छ । 
 

प्रतिक्रिया