कफी खेती प्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

सिन्धुपाल्चोक । यहाँका किसान कफी खेती तर्फ आकर्षित भएका छन् । एकपटक रोपे पछि ३५–४० वर्ष सम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफी खेती तर्फ आकर्षित भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लामा  एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । उत्पादित कफी मध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन् । 
 
कफी खेती बाट जिल्लाका किसानले वार्षिक  ६० हजार देखि एक लाख २५ हजार सम्म आम्दानी गर्न सफल भए पछि खाद्यान्न बालीको तुलनामा यस तर्फ अभिरुचि देखाउन थालेका थापा बताउछिन् ।  कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केरा खेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ ।

कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू-क्षय रोक्न समेत सघाउ पुर्‍याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भए देखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तह मध्ये लिसङ्खुपाखर,  पाचँपोखरी थाङपाल गाउँपालिका बाहेक सबैमा कफी खेती विस्तार गरिएको छ । यहाँको हावा पानी अनुसार सबै भन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । 

सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागे पछि जैविक विधि बाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उनी बताउछिन् ।  कफीका दाना मङ्सिर देखि चैत सम्म टिप्ने गरिन्छ । जेठ सम्म सबै सङ्कलन भए पछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०–३२ जनाले रोजगारी पनि पाएको सङ्घले जनाएको छ ।

परम्परागत खेती गर्दै आएका किसान अहिले कफी खेतीमा आकर्षित भएका छन् । एकपटक रोपे पछि ४० वर्ष सम्म उत्पादन दिने भएकाले पनि किसानले कफी खेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधान बारे जानकारी दिन थालिए पछि कफी खेतीमा किसानको झुकाव बढेको हो ।

अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ । फार्मले किसानलाई बिरुवा उपलब्ध गराउने देखि कफी खरिद गरि दिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए । फार्ममा छ हजार बोटको बगैँचा  पनि छ । आफैंले निर्माण गरेको नर्सरी बाट बिरुवा उत्पादन गर्ने गरेको उनी बताउछन् । उनले स्थानीय तह देखि विभिन्न संस्था सँगको समन्वयमा किसानलाई कफी खेती बारे तालिम, अन्तक्र्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए । 

कफी खेतीमा किसान लागे पछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ । कफी खेती मार्फत अर्थतन्त्रमा नगन्य मात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ । 

उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफी खेतीको उपयोगिता बारे जानकारी दिने गरेको बताए उनले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको बताए । सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरिया गायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ । 
रासस 

प्रतिक्रिया