रुस नियन्त्रित क्राइमियाको हतियार भण्डारमा ड्रोन आक्रमण

युक्रेनले आक्रमण गरेको भन्दै बदला लिने रुसको चेतावनी

रुसको कब्जामा रहेको क्राइमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ । आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण भएको पाँच किलोमिटर भित्र आउने नागरिकलाई त्यहाँबाट बाहिर निकालिएको जनाएको छ । युक्रेनको सेनाले पनि गोदाम र तेल भण्डारमा विस्फोटको भिडियो सार्वजनिक गरेको छ । रुसद्वारा नियन्त्रित क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले यस आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन । यद्यपि उनले यसको कुनै प्रमाण पेश भने गरेका छैनन् । अक्स्योनोभले प्रारम्भिक तथ्याङ्क अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिमा क्षति भएको खबर नआएको उल्लेख गरेका छन । रुसले हतियार भण्डारमा भएको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ । विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको थियो । ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको थियो । केर्च पुलमा पनि केही समयका लागि यातायात बन्द गरिएको थियो । आक्रमण भएको ठाउँ त्यस पुलबाट करिब एक सय ६० किलोमिटर टाढा छ । यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सो पुल निर्माण गरिएको थियो । सो पुल दक्षिणी युक्रेनमा रूसी सेनाको आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिन्छ ।
 

प्रतिक्रिया