नेपाल क्यानडा सँग चार विकेटले पराजित

काठमाडौं  । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खला अन्तर्गत मंगलबार राती भएको खेलमा नेपाल घरेलु टोली सँग चार विकेटले स्तब्ध भएको छ । 

प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औं ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडे पछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।

खेलको पहिलो ओभरको पहिलो र पाँचौ बलमा चौका प्रहार गर्दै साहले राम्रो सुरुआत गरे । दोस्रो ओभरको पहिलो बलमा एक रन लिएर आशिफले साहलाई स्ट्राइक दिए । साहले दोस्रो ओभरको दोस्रो, चौथो र अन्तिम बलमा छक्का प्रहार गरे ।

नेपालले तेस्रो ओभरमा आशिफको एक चौका सहित छ रन बटुल्यो । चौथो ओभरमा एक चौका सहित नेपालको खातामा सात रन थपियो । पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुले पछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो ।

पावरप्ले पछि नेपालको रनको गति सुस्त भयो । सातौ ओभरमा जम्मा चार रन आयो भने आठौ ओभरमा एक चौकाको सहयोगमा छ रन थपियो । नवौँ ओभरमा जम्मा चार रन थपिँदा नेपालले विना विकेट ७० रन बनायो ।

त्यसपछि नेपालले लय बिग्रियो । दसौं ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए । त्यस पछि सोही ओभरमा नेपालले चार रन थप्यो । एघारौं ओभरमा नेपालले दोस्रो विकेटका रुपमा आशिफलाई गुमायो । उनलाई साद विन जाफरले आउट गरे । 

नेपालको विकेट झर्ने क्रम १२औं ओभरमा पनि जारी रह्यो । कप्तान रोहित पौडेल व्यक्तिगत चार रनमा हर्ष ठाकरको सिकार भए । लगातार तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यस पछि दबाबमा पर्‍यो । तेह्रौं ओभरमा जम्मा दुई रन आयो भने १४औं ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो । मल्लले व्यक्तिगत चार रन बनाउँदा प्रवीन कुमारले आउट गरे ।

नेपालले १५औं ओभरमा चार रन र १६औं ओभरमा छ रन मात्रै बटुल्न सक्यो । १७औं ओभरको दोस्रो बलमा गुलसन झाले छक्का प्रहार गर्दै केही आशा जगाए । उक्त ओभरमा नेपालले नौ रन जोड्न सक्यो । तर १८औं ओभरको तेस्रो बलमा नेपालले कुशल भुर्तेलका रुपमा पाँचौ विकेट गुमायो । सोही ओभरको अन्तिम बलमा गुलसनले व्यक्तिगत दोस्रो छक्का प्रहार गरे । 

नेपालले १९औं ओभरमा एक चौका सहित १२ रन जोड्यो । अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ रनमा आउट भए । त्यस पछि सोही ओभरको पाँचौ बलमा करण केसीको छक्काको सहयोगमा नेपालले उक्त ओभरमा ११ रन जोड्यो ।

पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो । 

नेपाललाई मध्यम क्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एकरएक विकेट झारे । 

एक सय ४० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए । राजवंशीले पाँच दशमलव एक ओभरमा पहिलो विकेटका रुपमा नवनित धालिवाललाई आउट गरे । धालिवालले १६ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन मात्रै बनाउन सके । क्यानडाले दोस्रो विकेट आठौं ओभरको पाँचौ बलमा गुमायो । हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा रोक्दै पवेलियन फर्काए ।

त्यस पछि नेपालले १२औं ओभरमा महत्वपूर्ण दुई वटा सफलता प्राप्त गर्‍यो उक्त ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्तनलाई व्यक्तिगत २६ रनमा आउट गरे । किर्तनले १४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । सोही ओभरमा चौथो बलमा ओपनर दिलप्रित बाज्वा २५ रन बनाउँदै रन आउट भए ।

त्यसपछि क्यानडाको रनको गति सुस्त भयो । उसले १३औं ओभरमा एक चौका सहित छ रन जोड्यो भने १४औं ओभरमा जम्मा तीन रन मात्रै थप्यो । नेपालका लागि सन्दीप लामिछानेले १५औं ओभरमा थप दुई सफलता दिलाए । उनले उक्त ओभरको पहिलो बलमा श्रेयस मोभालाई व्यक्तिगत आठ रन र सोही ओभरमा तेस्रो बलमा  दिलोन हेलिङ्गरलाई खाता खोल्न नदिइ पवेलियन फर्काए । 

क्यानडालाई अन्तिम पाँच ओभरमा १० रनको औसतले ५० रन बनाउनु पर्ने थियो । सोह्रौं ओभरमा क्यानडाले एक चौका सहित आठ रन र १७औं ओभरमा एक चौका सहित नौ रन जोड्यो । त्यसैगरी १८औं ओभरमा सोमपाल कामीले एक चौका र नो बल सहित १२ रन खर्चिए ।

उन्नाइसौं ओभरमा बलिङका लागि आएका करण केसीले महत्वपूर्ण १८ रन दिए । केसीको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै साद विन जफरले खेललाई आफ्नो नियन्त्रणमा लिए । तेस्रो बलमा जफरले एक रन लिँदै स्ट्राइक रवीन्द्रपल सिंहलाई दिए । सिंहले सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै क्यानडालाई जित नजिक पुर्‍याए ।

क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए । त्यस पछि क्यानडाले वाइड मार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्कोर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे ।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुईरदुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै  एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए । 

शृङ्खला अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमान विरुद्ध खेल्नेछ ।

रासस 

प्रतिक्रिया