बाढी पहिरोका कारण १७ अर्ब भन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौं । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षा पछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्ष भरि खाने तरकारी नष्ट भयो ।

सहजै यात्रा गर्ने राजमार्गह क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौंको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन ।

तर, यस पटकको अविरल वर्षा पछिको बाढी पहिरो नेपालीका लागि बाजा बजाएर आए भन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । 

राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् ।

जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौं नागरिकले अकालमा ज्यान गुमाएका छन् । काठमाडौंको बल्खु, नख्खु, बागमतीका किनार तथा भक्तपुरको हनुमन्ते लगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ ।

बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार  १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । 

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढी पहिरो र डुबान बाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । 

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी मा.वि.मा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए । 

पहिराले पुरिदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबै भन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ ।

हाल सम्मको विवरण अनुसार बाढी पहिरो बाट सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ । 

पछिल्लो पटकको बाढी पहिरोमा परी हाल सम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् । एक सय ५८ जना घाइते छन् ।

उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको बताइएको छ  । कृषि क्षेत्रमा करिब  छ अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।

कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको  तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशु पन्छीमा क्षति पुगेको छ । 

भौतिक क्षतितर्फ खानेपानी संरचनामा  तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा  दुई अर्ब ५२ करोड, ऊर्जा तर्फ  चार अर्ब र जलस्रोत तथा सिँचाइ तर्फ  एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।बाढी पहिरो बाट ३७ वटा राजमार्ग अवद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् ।  त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षा पछि आएको बाढी पहिरोका कारण सडक विभाग अन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण पमा क्षति भएको छ ।

त्यसमा सडक तर्फ  एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ  ८२ करोड र बेलीब्रिजतर्फ  २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।  सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढी पहिरोका कारण क्षति पुगेको छ ।

बाढी पहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ ।

सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्ग अन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ । 

अरनिको राजमार्ग अन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै, लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोत तर्फ समग्रमा  चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका पमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्यांकन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए । 

यस्तै, खानेपानी आयोजनामा  तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालय अन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ ।

कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल वर्षा पछिको बाढी पहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्की लगायतका संरचनामा क्षति पुगेको छ ।

सरकारले खोज तथा उद्धारमा ३० हजार सात सय ३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढी पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ ।

बाढी पहिरो बाट अवद्ध भएका सडकलाई थप तदाकताका साथ सञ्चालनमा ल्याउने, पहिरो बाट अवद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यम बाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । विभिन्न स्थानमा अवद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ । 
रासस 

प्रतिक्रिया