बाढी, पहिरो: पनौती जलविद्युत् आयोजनामा क्षति

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण शनिबार आएको बाढी, पहिरोले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीमा रहेको पनौती जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजनाको ‘पावरहाउस’मा क्षति पुगेपछि बिजुली उत्पादन रोकिएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना (पनौती जलविद्युत् केन्द्रंं)का रुपमा रहेको उक्त केन्द्रमा शनिबार बिहान २ बजेदेखि विजुली उत्पादन रोकिएको जनाइएको छ । केन्द्रका प्रमुख सविन उप्रेतीका अनुसार पहिरोसँगै आएको बाढी तथा लेदोले पावरहाउस भित्रको उपकरण डुबेको थियो ।

पावरहाउका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणाली लगायतको उपकरण डुबेको उनले जानकारी दिए । “मेसिन–उपकरणलाई पूर्वत् रुपमा फर्काउन सरसफाइको काम थालेका छौँ, उपकरणलाई पूर्ववत् अवस्थामा ल्याएपछि तथा पानी ल्याइएको क्यानलको मर्मतपछि बिजुली उत्पादन थाल्नेछौँ,” उनले भने । उनका अनुसार पावरहाउसमा क्षति पुगेको बाँधबाट पावरहाउस सम्मको क्यानल (कुलो)को विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको छ ।

पावरहाउसको दुईतर्फबाट पहिरो आएकाले जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ । आयोजनाको ल्याइएको पानीको मुहान पनौती नपा–८ मल्पीस्थित रोशी खोलामा रहेको छ । उक्त खोलामा आएको बाढीले मुहान क्षेत्रमासमेत क्षति पुगेको उप्रेतीले बताए । पावरहाउस नजिकबाट बग्ने सलान्दु खोलाको बाढीले क्षति पुर्‍याएको हो ।केन्द्रको तीन टर्वाइनमध्ये दुई वटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । दुई दशमलव ४ मेगावाट क्षमताको उक्त जलविद्युत् टर्वाइनबाट हाल १ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । उक्त केन्द्र तत्कालीन सोभियत सङ्घको रु २७ करोड सहयोगमा निर्माण गरेको थियो । केन्द्रको विसं २०२२ असारमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया