कर्णाली सरकारले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय
कर्णाली । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि ५० लाख रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
प्रवक्ता शाहका अनुसार बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
त्यसैगरी, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन मंगलबार असोज १५ गते राति १२ बजेदेखि अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।
प्रतिक्रिया