सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादव द्वारा निर्देशन
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उनले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए ।
राज्यले नागरिकका हकमा दीर्घकालीन खानेपानीका योजना बनाउनसक्ने भएकाले खानेपानीका आयोजनाका विषयमा आउने नकारात्मक टीकाटिप्पणीका बारेमा कुनै प्रवाह नगरी आफ्नो काममा निरन्तर लागिपर्न मन्त्री यादवले मंगलबार कर्मचारीलाई निर्देशन दिए ।
उपत्यकाबाट करिब १९ किमी दूरीमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा बाँध बनाइ कोगटे खोलाको पानी समेतलाई जम्मा गरी पम्पका माध्यमबाट पानी प्रशोधन केन्द्रसम्म पुर्याउने काम अन्तिम चरणमा रहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवविक्रम राणाले जानकारी दिए ।
राणाका अनुसार सिस्नेरी खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको स्कोपिङ कागजात तथा टिओआर, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । पाइपलाइन, पानी प्रशोधन केन्द्र, सम्भावित बाँध निर्माणस्थल, पम्प स्टेसन, इन्टेक आदिका लागि टोपोग्राफिकल सर्भे, ड्रोन सर्भे, हाइड्रो मेट्रोलोजिकल सर्भे, जियो–प्राविधिक सर्भे, भौगर्भिक अनुसन्धान सर्भे, पहुँचमार्ग सर्भे, इलेक्टिसिटी पावर सर्भे सकिएको छ ।
प्रतिक्रिया