राष्ट्र संघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल इटाली प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल शनिवार साँझ इटाली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायत पनि इटाली गएका छन् । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायतले विदाई गरेका थिए ।
दाहालले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्नेछन् ।
प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । इटालीमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका प्रतिनिधि र अन्य देशका सरकार प्रमुखसँग साइटलाइन वार्ता पनि गर्ने जनाइएको छ ।
प्रतिक्रिया