उदार मनका धनी भाटभटेनीका अध्यक्ष गुरुङले बाढी पीडितलाई १ करोड ११ लाख गरे सहयोग

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् ।गुरुङले पछिल्लो अविरल वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको बताए ।भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिएको  बताए ।

अर्बाै रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको गरुङले  बताएका छन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन्। रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन्।उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो ।

उनीहरूले सो बापत  स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए।त्यसैगरी गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ । त्यस्तै उनले अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि पीडितको उद्धार र राहतका लागि  एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।  ८० लाख रुपैयाँ बराबरको खाद्यान्न पनि उनले जाजरकोट पठाएका थिए ।कारोना महामारीका  संघीय सरकार र सातै प्रदेशमा उनले सहयोग उपलब्ध गराएका थिए ।

त्यसअघि गुरुङले  २०६८ सालमा महारावजगञ्ज स्थित  त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् । उनले अरु पनि धेरै सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । 
 

प्रतिक्रिया