पूर्व तयारी भन्दा ठूलो विपद आएकाले उद्धार र खोजमा कमी कमजोरी भएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद आएकाले उद्धार र खोजमा कमी कमजोरी भएको हुनसक्ने तर, आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त  गरेका छन् । 
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार  आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले  बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई  आव्हान  समेत गरेका छन् । यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्या मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन ओलीले आग्रह गरेका हुन् । 

“यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपदका घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भने, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपदको सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ ।”

 उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया