बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

सिन्धुली । वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो । सिन्धुलीकोे सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोशी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोशी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ । 

खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोशी–५ रामटारबाट खाँडादेवी–३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको बताउँदै सुनकोशीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुङ्गे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको जानकारी दिइन् ।

यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्र्पक टुटेको घिसिङले बताइन । रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले पूर्ण रुपमा बगाएको छ । दुई वटा झोलुङ्गे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन् । जसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको उपाध्यक्ष  घिसिङले बताइन् ।

यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ । गोलञ्जोर–७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोशीमा आएको बाढीले बगाएको हो । मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूर्ण रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

 बाढीले पुल बगाउँदा रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजार क्षेत्रमा ताजा तरकारीको अभाव भएको होटल व्यवसायी मनोजकुमार श्रेष्ठले बताए । जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय ठप्प भएको श्रेष्ठको गुनासो छ । 

फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूर्ण रुपमा बगाएको छ भने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिए । बरालका अनुसार फिक्कल–४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने र फिक्कल–६ सुनकोशी गाउँपालिका–१ ओखलढुङ्गा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो । 

फिक्कल–४ सुनकोशी–२ जोड्ने, फिक्कल–५ सुनकोसी–१ जोड्ने र फिक्कल–५ सुनकोशी–२ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिए । आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभाग्य वस्तु ओसारपसार तथा आवातजावत गर्ने यात्रुलाई समस्या परेको उनको भनाइ छ । पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन नसकेका उनले जानकारी दिए ।

सिन्धुली हुँदै रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजाने कठिन भएको छ । बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुनःनिर्माण गरिदिन सुनकोशी गाउँपालिका–१ गोइरीकी कृष्णमाया तोलङ्गे तीनै तहका सरकारसँग आग्रह गरेकी छिन् ।

बाढीपहिरोले बगाएका तथा क्षति गरेका पुल र भत्किएका सडक पुनःनिर्माण गरेर सञ्चालनमा आए दुःखजिलो जीवन निर्वाह गर्न सकिने तोलङ्गेले बताइन् । विपद्को समयमा सबै एकजुट भएर सहकार्य र समन्वय गरी प्रभावित नागरिक र क्षेत्रका पक्षमा काम गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया