आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह
एजेन्सी । बढ्दो द्वन्द्व र अशान्तिका बीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।
सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिला मन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) ले एयरलाइन्स सँग समन्वय गरिरहेको बताए ।
पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारको बारम्बार चेतावनी दिईरहेको छ ।
लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केहि समय धैर्य गर्न आग्रह गरेको छ ।
क्यानबेरामा मङ्गलबार सञ्चारकर्मी सँग कुरा गर्दै अर्थ मन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।
डिएफएटी द्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिदै आएको जनाइएको छ । लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्ककावादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ ।
यसै बीच अष्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रय सहित पूर्व तयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ ।
यस अघि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तिमा १५ हजार देखि ३० हजार अष्ट्रेलियालीहरू अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो ।
रासस
प्रतिक्रिया