एमाले द्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले  ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । 


मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन् । 

प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेको प्रस्ताव संसदीय दल बाट पारित भएको छ । प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हाल सम्म भएका प्रगति बारे मंगलबार दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताए । 
उनले बाढी पहिरो र प्राकृतिक विपद् बाट मुलुक आक्रान्त भएकामा आफूहरु सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूकोे शीघ्र स्वास्थ्यलाभको कामना गरे। सरकारले घाइतेहरुको यथोचित उपचार गर्ने जानकारी गराए । 

“सरकारका तर्फ बाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् । सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए । कुनै गुनासा प्रति हामी प्रतिवाद गर्दैनौँ । जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो । हामी जनताका सेवक हौँ । सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भने । “राहत कोषमा सङ्कलन हुने रकमको सही सदुपयोग गरिनेछ ।”
रासस 

प्रतिक्रिया