बाढी पहिरोमा परी २ सय १८ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । गृह मन्त्री रमेश लेखकले बाढी पहिरोमा परी देशभर २ सय १८ जनाको मृत्यु, २७ जना बेपत्ता र १ सय ४३ जना घाइते भएको जानकारी दिँदै विपद् पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मंगलबारको बैठमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए । 

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउने तर्फ सरकार केन्द्रित भएको जानकारी दिए। “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र  पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”, उनले भने । 

बैठकमा गृह मन्त्री लेखकले बाढी पहिरोमा परी देशभर २ सय १८ जनाको मृत्यु, २७ जना बेपत्ता र १ सय ४३ जना घाइते भएका जानकारी दिएका छन् । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । 

पचास वर्ष पछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए ।  उद्धारमा नेपाली सेनाका तीन हजार ९ सय ६, नेपाल प्रहरीका १४ हजार ८ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएको उनले जानकारी दिए । 
रासस 

प्रतिक्रिया