इजरायली सेना लेबनानमा छिर्‍यो,जमीनबाट हिजबुल्लाह लक्षित आक्रमण गर्दै

एजेन्सी । लेवनानमा हिजबुल्लाह लक्षित हवाई आक्रमण गरिरहेको इजरायलले अब जमीनबाट पनि आक्रमण गर्ने भएको छ । 

बीबीसीका अनुसार इजरायली सेना लेबनानमा प्रवेश गरेको छ ।  जसलाई इजरायली सेनाले हिजबुल्लाहविरुद्ध “सीमित, स्थानीयकृत र लक्षित“ जमीनी अभियान भनेको छ। लेबनानमा विगत दुई हप्तादेखि इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको छ । जसमा हिजबुल्लाहका शीर्ष नेताहरु मारिएका छन् । हिजो सोमबारमात्रै  हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायली भूमि आक्रमणका लागि आफूहरुको समूह तयार रहेको र यो लडाइँ ’लामो हुन सक्ने’ बताएका थिए। त्यस लगत्तै इजरायली सेना आज मंगलबार जमीन मार्फत लेवनान छिरेको छ ।

लेबनानमा विगत दुई हप्तामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि रकेट आक्रमण गर्ने गरेको छ ।
 

प्रतिक्रिया