पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर  फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।

गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढी सँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दशैं अघि थन्क्याई सक्ने तयारी गरिएको धान बाली सहित उब्जाउ हुने खेत बगरमा परिणत भए पछि किसान निराश छन् ।

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारे पछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । “जेठ २९ गते  ८० हजार खर्च गरेर रोपेको धान पाके पछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौं । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिन देखि भोक, निद्रा छैन”, उनले भने । किसान श्रेष्ठले २२ रोपनी बाट एक सय मुरी धान भित्र्याउने गरेका थिए ।  यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसे पछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताइन् । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाइन् । 

बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिए । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसै बाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धान सहित पाँच रोपनी खेत बगर बनाए पछि उनलाई यतिबेला चिन्ता बढेको छ । 

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइ दिएको छ । सुनकोशी गाउँपालिका भित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । 
 
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए । 

हरिहरपुरगढी गाउँपालिकामा वागमती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँट लगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरे सँगै धान बालीमा क्षति भएको छ ।

भर्खर पसाएको धान बाढीले जमिन सँगै कटान गरे पछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकार सँग पनि केही आशा छैन । 

जिल्लाका नौ वटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् । उनले भनिन्, “तीन दिनको अविरल वर्षा सँगै आएको हुरी र बाढी पहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।”

कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उनले बताइन् ।  क्षति विवरण यकिन भए पछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकाय सँग समन्वय गर्ने उनी बताउछिन् ।  

कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।
रासस 

प्रतिक्रिया