सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौ‌ । केही दिन अघिको अविरल वर्षा पछि आएको बाढी पहिरो बाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले सँगै सडक यात्रामा केही हद सम्म सहजताको स्थिति बनेको छ ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भए सँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारा सम्म तथा बिपी राजमार्ग तर्फ भकुण्डेबेँसी सम्म सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । 

नुवाकोट तर्फ जाने नाका खुले पनि त्यहाँ बाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढी पहिरो बाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्‍याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

केही दिन अघिको बाढी पहिरो बाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्‍याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो । बाढी पहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यसैबीच, नजिक आइरहेका बडा दशैं लगायत चाडपर्वका कारण काठमाडौंमा न्यूरोड सहितका शहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिन देखि सवारीसाधन व्यवस्थापनमा चाप बढेको छ । पछिल्ला दिन कोटेश्वर, त्रिपुरेश्वर, बानेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, गौशला, महाराजगञ्ज चक्रपथ, गोङ्गबु, कालीमाटी र कलङ्की क्षेत्रमा तुलनात्मक रूपमा सवारी आवागमन बाक्लो देखिएको नायब उपरीक्षक कार्की बताए । 

उपत्यका भित्रका खोला करिडोर सडकमा बाढी पछिको हिलो पन्छाउने कार्य पूरा भए सँगै उपत्यकामा सडक यातायात व्यवस्थापन केही हद सम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ ।

बडा दशैं लगायत चाडबाड मनाउन ठूलो सङ्ख्यामा राजधानी बाहिर जाने यात्रीका सहयोग र सहजताका लागि उपत्यका ट्राफिक कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ ।  उक्त सहायता कक्ष यात्रु बिचौलिया बाट ठगिन नपरोस् र सर्वसाधारण नागरिकको यात्रा सहज र सुविधा जनक होस् भन्ने हेतुले स्थापना गरिएको कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक कार्यालयले बिचौलिया बाट बच्न आधिकारिक टिकट काउण्टर बाट टिकट लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ ।
रासस 

प्रतिक्रिया