हवाई उडानमा नयाँ रेकर्ड  कायम : सोमबार ५ सय ५९ उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भए पछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडक मार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भए पछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो ।
   
मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको  नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिक तर्फ हेलिकप्टर सहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् ।

अन्तर्राष्ट्रिय उडान तर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हाल सम्मकै सर्वाधिक उडान भएको बताए । एकै दिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यस अघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिक तर्फ पनि दैनिक दुई सय ७० उडान मार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिक तर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने यनले बताए । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुने छन् ।

वर्षाका कारण अवरुद्ध मुख्य सडक मार्ग आंशिक रूपमा खुले पनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढे पछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । 

आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।
रासस 

प्रतिक्रिया