बाढीपहिरोः काभ्रेमा ६२ को मृत्यु, ४ जना बेपत्ता

काभ्रेपलाञ्चोक । केही दिन अघिको बाढी पहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतक मध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । 

घटनामा हाल सम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हाल सम्म बाढी पहिरोमा परी मृत्यु हुनेमा सबै भन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतक मध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ । 

यसैगरी, मण्डनदेउपुरमा चार महिला सहित आठ जनाको मृत्यु भएको छ । मृतक मध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सात मध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँच मध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । 

बाढी पहिरोले खानेपानी आपूर्तिमा समस्या

अविरल वर्षाका कारण बाढी पहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।
 
धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजना समेत बन्द भएको छ ।
 
दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताए । उनका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने छ । आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ ।

एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताए । उनले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुनःनिर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताए । 

धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोला स्थित मुहान–इन्टेकमा बाढी पहिरोले क्षति पुर्‍याउँदा तीन दिन देखि खानेपानी वितरण रोकिएको छ । पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचना मार्फत जानकारी गराएको छ ।
 
स्थानीय तह द्वारा राहत घोषणा

विपद् पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढी पहिरो बाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरले मानवी यलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिक सहितको टोली परिचालन गरेको छ ।
 
यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही  ३० हजार, घाइतेलाई २० हजार, पूर्ण क्षति भएको घरलाई  १० हजार, गोठलाई पाँच हजार, उच्च जोखिममा परेका घरलाई  पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई  १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा  पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।
रासस 

प्रतिक्रिया