मेलम्चीका बाढी, पहिरो पीडितको माग सम्बोधन गर्नेछु : खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरो पीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् । 

सोमबार मन्त्रालयमा मेलम्ची बाढी पहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधि सँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरो पीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताए । 


मन्त्री यादवले भने, “सङ्घर्ष समितिका जायज मागप्रति हामी चिन्तित छौँ, । मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु ।” खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्ता देखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उनले बताए । 

मन्त्री यादवले मेलम्चीका बाढी पीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्‌मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्री सँग पनि छलफल गरिरहेको बताए । उनले भने,“मेलम्चीपीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक छ । छलफल र समन्वय मार्फत समस्या समाधान गर्नुपर्छ ।”

मेलम्ची पीडितका समस्या समाधान गर्न कति सम्भव छन्, राज्यले तत्काल के के गर्न सक्छ ? उक्त विषयमा गृहकार्य गरी एउटा समिति बनाउनु पर्ने भन्दै यसका लागि मन्त्रालयले पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए । उनले भने,  “मन्त्रालय यहाँहरुका जायज माग पूर्ति गर्न लागिरहेको छ । छलफल मार्फत सबैको हित हुने गरी समिति गठन गरी काम अगाडि बढाउने छौँ ।”

जनाताले आफ्ना जायज माग सम्बोधन गराउन सरकार विरुद्ध सडक सङ्र्घष गर्नु पर्ने अवस्था आउने विषय उपयुक्त नभएको भन्दै मन्त्री यादले भने, “सरकारले समस्याको सही समाधान गर्नुपर्छ । समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न तपाईंहरुलाई मन्त्रालयमा बोलाएको हुँ । काठमाडौंवासीलाई पानी खुवाउने महान् कार्यमा यहाँहरुको सहयोग आवश्यक छ । सहजीकरण गरिदिनु हुन्छ भन्ने आशा लिएको छु ।”

विसं २०७८ पुस २२ गते बसेको सरकारको मन्त्रिपरिषद् बैठकले (मेलम्ची खानेपानी आयोजना) पुनःनिर्माण सम्बन्धी योजना स्वीकृत गरेको थियो । सोअनुसार भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास तथा भवन निर्माण मन्त्रालय बाट आफ्नो विषयगत क्षेत्रमा पूर्वाधार पुनःस्थापना तथा पुनःनिर्माण गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

यसैगरी मन्त्रिपरिषद्‌ बाट पारित भएको उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायले इमान्दारिता पूर्वक कार्यान्वयन गर्न यादवले आग्रह गरे । 

छलफलमा सहभागी भएका मेलम्ची बाढी पहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधिहरुले आफ्ना मागका विषयमा सरकारले सुनुवाइ गर्नुपर्ने भन्दै तत्काल पानी काठमाडौं पठाउन सहयोग गरिने बताएका थिए । 
रासस 

प्रतिक्रिया