सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धान खेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइ लगायत व्यवस्थाका लागि प्रति बिघाको करिब ४० हजार खर्च गरेका थिए । 

केही दिन देखि परेको अविरल वर्षा सँगैको बाढीले उनी सँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रति बिघा ४० हजार लगानी गरेर खेती गर्नु आम किसानका लागि समान्य कुरा नभएको उनको भनाइ छ ।

देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिएका थिएनन् । तर, अहिले बाढी बाट क्षति भए पछि उनी वर्ष भरि के खाने भन्ने चिन्तामा छन् । उनले करिब दुई बिघामा धान खेती गरेका थिए । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताए । 

देवनारायणले घुटराज जातको धान लगाएका थिए । पाकेर भित्र्याउने बेला आएको पानीले खेती सँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले बताए। भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षा बाट बढी प्रभावित भएका उनले बताए । 

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायण सहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहता लगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिए । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुके पछि खेतमै उम्रिने उनले बताए । 

किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताए । “सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ”,  उनले भने । 

यसैबीच लगातार वर्षा सँगै आएको बाढी बाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढी बाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

कोशी–४ मा बाढी बाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । हरिनगर गाउँपालिकामा केही बाढी पीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन् भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उनले बताए । 

बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले बताए । खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताको भनाइ छ । 

दशैं नजिकिए सँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रा लगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको उनले बताए । 

बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मत सम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी बाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
रासस 

प्रतिक्रिया