नेपाल र अमेरिका बीच सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिका । नेपाल र अमेरिका बीच दुई पक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम)सम्बन्धी सम्झौतामा यहाँ स्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपालको तर्फ बाट परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र अमेरिकाको तर्फ बाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उप -विदेश मन्त्री जोन बासले सोमबार हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरू बीच संयन्त्र मार्फत विविध पक्षका बारेमा काठमाडौं र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ ।

उक्त सम्झौता पश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिका बीचको सामूहिक चासोका विविध विषयमा छलफल गरेका थिए । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फ बाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फ बाट दक्षिण तथा मध्य एसिया सम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लु उपस्थित थिए ।

परराष्ट्र मन्त्री राणा आजै वाशिङ्टन बाट दोहा प्रस्थान गरेकी छन्। त्यहाँ उनले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनेछिन् । 
रासस

प्रतिक्रिया