बाढी र पहिरोले राजमार्ग : दृष्य एक, पीडा अनेक

धादिङ । सङ्घीय राजधानी काठमाडौंको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिन सम्म निरन्तर परेको वर्षा सँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुपर्‍यो । झण्डै दर्जन सवारी साधनले क्षति व्यहोर्नुपर्‍यो ।

झ्याप्ले खोला क्षेत्र आइतबार बेलुका देखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहान देखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन ।

राजमार्गको घुम्ती घुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिन सम्म निरन्तर परेको वर्षा पछि पाइलै पिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं बाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्य सहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिए । 

राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारी साधन सोमबार बिहान देखि काठमाडौं प्रवेश गरेका छन् । काठमाडौंतर्फ जानका लागि चार दिन देखि सडकमा रोकिएका सयौं सवारी साधनलाई दिन भरि लगाएर प्रहरीले काठमाडौं प्रवेश गराएको हो । “नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने र ढुङ्गा खस्न सक्ने जोखिम छ”, सिलवालले भने, “जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छी बाट नुवाकोटको छहरे हुँदै काठमाडौं पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।”

गल्छी बाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्ड बाट काठमाडौं प्रवेश गराइएको छ । अतिआवश्यकीय सामग्री (पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न) बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौं प्रवेश गराइएको छ । 

नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले  जानकारी दिए । पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिन भर काठमाडौं बाट बाहिरिने सवारीसाधनलाई काठमाडौं तर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उनले बताए । काठमाडौं बाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझ देखि मात्रै नागढुङ्गा नौबिसे सडक बाट छोडिएको छ ।

राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु

सडक माथि भित्ता बाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरो जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् । 

पहिरो खसेको, गुड्दा गुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेका यात्रुको अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ । ‘हामी काठमाडौं त पुग्छौं नी ?, हामीलाई कुन बाटो ठीक होला ? भनेर नसोध्ने सायदै भेटिएनन् । त्रासको मानसिकतामा रहेका यात्रु निकै आत्तिएका देखिन्थ्ये ।’

गत शुक्रबार काठमाडौं बाट गोरखा जान निस्किए पनि पहिरोमा रोकिएर बल्ल गन्तव्य तर्फ हिँड्न लागेका माइक्रोबसका चालक विशाल श्रेष्ठ भन्छन्, “हामी चालक डरै डरमा हिडिरहेका छौं ।” झ्याप्ले खोलाको पहिरो नजिक दुई दिन रात बिताएर सोमबार नुवाकोटको बाटो हुँदै धादिङको गल्छी निस्कीएका श्रेष्ठले राजधानी प्रवेश गर्ने सडकको कहाली लाग्ने पीडा सुनाए । 

“धादिङको गल्छी, नुवाकोटको छहरे हुँदै काठमाडौं आवतजावत गर्ने सडक पनि सवारी चापले त्यति सुरक्षित छैन । “बाटोमा ट्राफिक कतै भेटिँदैन । गाडीको सङ्ख्या अत्यधिक छ । साँघुरो बाटो, धेरै गाडी, तछाडमछाड सँग दौडिँदा दुर्घटनाको जोखिम छ”, श्रेष्ठले भने । 

नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ । सोमबार दिउँसो काठमाडौं बाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गरेका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्छन्, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उनले बताए । 

त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चरौंदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरो पन्छाउने काम भइरहेकाले ठाउँ ठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेका उनले उल्लेख गरे । 

लामो समय सम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ । बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ । बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन् । 

“हवाइजहाज चढ्न पैसाले धान्दैन । गाडी चढ्यो मरिन्छ की बाँचिन्छ पत्तो छैन”, पोखरा जाने सवारीमा भेटीएकी  तुलसा रेग्मीले भनिन्, “सरकारले सबै काम छोडेर राजमार्गको यात्रा सुरक्षित गराइदिए हामी जस्ताको कल्याण हुने थियो ।”

दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँ ठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे । ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकता भन्दा बढी जाममा बस्नु परेको उनीहरुको गुनासो थियो । सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ । 

सोमबार दिउँसो गल्छी गाउँपालिका–२ घाटबेंसीको पहिरो पन्छाउने क्रममा भेटीएकी सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेंसीका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले सम्भावित जोखिम कम गर्न चौबिसै घण्टा सडकमा खटिरहेको बताइन् । 

यसै हप्ता बाट दशैंको रौनक सुरु हुँदैछ । सडकको अवस्था दयनीय छ । जहाजको टिकट महँगो छ । दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढे सँगै सवारी चाप बढ्नै बाँकी छ । चाडपर्वको मुखमा हरेक वर्ष ठूला ठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन् । सडक दुर्घटना बाट हुने क्षति कम गर्न सबै क्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।
रासस 

प्रतिक्रिया