राष्ट्रिय प्रशारणमा नजोडिँदा दैनिक लाखौँ घाटा

रसुवा । समयमा राष्ट्रिय प्रशारण लाइनमा जोडिन नसक्दा एक सय ११ मेगावाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाले दैनिक लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएको जनाएको छ ।रसुवामा उत्पादित विद्युत् थाम्बुचेतबाट काठमाडौँस्थित राष्ट्रिय प्रसारणमा जोड्न गतवर्षबाटै प्रसारण लाइन निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न भएको छैन ।

जसका कारण ऋण रकमबाट निर्मित जलविद्युत् आयोजनालाई ब्याजको व्ययभार बढ्दै गएको आयोजनाले जनाएको छ । ‘रनर’मा पानी छोड्ना साथ बिजुली उत्पादन हुने अवस्था भइसके पनि प्रसारण लाइनसँग जोडिन नसक्दा घाटा व्यहोर्नु परेको हो ।भौगोलिक विकटताका कारण प्रशारण लाइन निर्माणमा ढिलाइ भएको प्राविधिकहरु बताउँछन् । राष्ट्रिय प्रशारण लाइन दशैँअघि सम्पन्न गर्ने गरी काम भइरहेको उनीहरुको भनाइ छ ।उत्तरगया गाउँपालिका–१ सिरूचेत भदौरेदेखि तिरू क्षेत्रमा ड्रोनको सहायताले प्रशारण लाइनको तार तान्ने काम सम्पन्न भएको र त्यसलाई मजबुत बनाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रशारणका महाशाखा प्रमुख थर्कबहादुर थापाले जानकारी दिए  ।

थाम्बुचेतदेखि काठमाडौँको मातातीर्थसम्म ७६ किलोमिटरको दुरी मध्ये ४८ किमिको काम सम्पन्न भई अपर मैलुङ र माथिल्लो त्रिशूली–१द्वारा उत्पादित विद्युत् प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । डाडागाउँ इलाकाको भदौरेदेखि थाम्बुचेतसम्मको काममा ढिलाइ भएको हो । निर्माण सम्पन्न भएका रसुवागढी र साञ्जेनको विद्युत् अलपत्र परिरहेको विद्युत् प्राविधिक बताउँछन् ।तीन महिना पहिल्यै निर्माण सम्पन्न भएको रसुवागढी जलविद्युत् आयोजनले राष्ट्रिय प्रशारण लाइन नपाउँदा दैनिक रू ९० लाख  घाटा व्यहोर्नुपरेको आयोजना प्रमुख सत्यराज ज्याख्वाले बताए।

कर्मचारी सञ्चय कोषको ऋण तथा स्थानीय तह, रसुवावासी र आम सर्वसाधारणको शेयरको लगानीबाट निर्माण भएको रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषलाई दैनिक रु ४६ लाख ब्याज तिरी रहेको आयोजना प्रमुख ज्याख्वाले जानकारी दिए । उता साङ्जेनले दैनिक रु २७ लाख कर्मचारी सञ्चयकोषलाई ऋणको ब्याज बुझाई रहेको जनाएको छ ।रसुवागढी जल विद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको १८, रसुवावासीको १०, सर्वसाधारणको १५, कर्मचारी सञ्चयकर्ताको २४, चिलिमे जलविद्युत् कम्पनीको ३२ दशमलव ७९ र स्थानीय तहको शून्य दशमलव २१ प्रतिशत शेयर रहेको बताइएको छ ।

नयाँ राष्ट्रिय प्रशारण लाइनले एक सय ११ मेगावाटको रसुवागढी र ४२ दशमलव पाँच मेगावाट तल्लो तथा १४ दशमलव आठ मेगावाटको माथिल्लो  साञ्जेनबाट उत्पादित र रसुवा तथा नुवाकोटमा उत्पादित विद्युत् एकमुष्ट रूपमा काठमाडौँस्थित मातातीर्थको राष्ट्रिय भण्डारणमा पुर्‍याउने गरी काम भइरहेको छ । लाइन तान्ने काममा दैनिक एक सय ५० कामदार कार्यरत छन् ।

प्रतिक्रिया