विपदमा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौ ।  यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

 खोज तथा उद्धारकार्य जारी रही आज सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले जानकारी दिए ।मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।

संयुक्त राष्टसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबैखाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गर्ने उनले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सूचारु गर्ने, तत्काल सूचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।”

प्रतिक्रिया