प्रधानमन्त्री दाहाल आज साँझ इटाली जाँदै, साउन आठ गतेदेखि हुने संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रममा सहभागी हुने

साउन आठ गतेदेखि हुने संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रममा सहभागी हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटाली जाँदैछन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

दाहालले रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् ।

यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नेछन्।

यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ। भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया