विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु

विराटनगर । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु  गरेको  छ ।

जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँने भएको छ । उक्त परियोजनाको लागत रु दुई अर्ब ५४ करोड छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन वटा पाइप बिछ्याएर पुर्ने भएको छ ।

त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि औपचारिक रुपमा पाइपलाइन विस्तार गर्ने कर्णले जानकारी दिए । जाइकाको खानेपानी परियोजना छिटो सम्पत्र गरी शुद्ध खानेपानी प्रयोग गर्न वडावासी आतुर रहेको वडा नं ८ कावडाध्यक्ष राम पोखरेलले बताए ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताए । विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका संरचनाको सुधार गर्ने, खानेपानीका ‘ओभरहेड’ ट्याङ्की, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने जनाइएको छ ।उक्त आयोजना सन् २०२६ सम्ममा सम्पत्र गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले एक लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।

प्रतिक्रिया