क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिजामा नेपालद्धारा ओमान पराजित

काठमाडौ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । खेलमा जितका लागि एक सय ७७ रनको लक्ष्य पछयाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटिएको छ । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ र फयाज बुट्टले १७ रन जोडे ।नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । त्यसैगरी कुशल मल्लले ३०, आसिफ शेख र अनिल शाहले समान २७÷२७ र कुशल भुर्तेलले २० रन बनाए । ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेलान मङ्गलबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। 
 

प्रतिक्रिया