प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपदजन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् । 

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् । 

यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । 

वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । 

यसैबीच, होटल सङ्घ नेपालले निराधार रुपमा आफू खुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ  । 

प्रतिक्रिया