मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम ।  मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एक जना रहेका छन् । 

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने ८ जना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले  जानकारी दिए। बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेसका आठ जिल्लामा बाढीबाट  ५६ लाख रुपैयाँको क्षति भएको छ । 

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय  मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३  लक्ष्मीपुरका  १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।  

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता भएकी छिन् ।८ जिल्लामध्ये रौतहटमा तीन,  सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए ।  

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ ।  सोमबार देखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ ।

प्रतिक्रिया