बचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढी पीडित

ललितपुर ।  शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।

शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ । बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताए ।  

ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् । करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । 

त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने एकीन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढी पीडित नारायण सुनुवार हाल निकै चिन्तामा छन् ।

प्रतिक्रिया