सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसहित दश जना पक्राउ

भ्रष्टाचार र सरकारको असक्षमताका कारण अवैध सुन भित्रिने क्रम बढ्दो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पछिल्लो पटक पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ रहेको बताइएको छ । श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या दश पुगेको विभागले जनाएको छ । यसअघि भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागको टोलीले दिउँसो नै पक्राउ गरिसकेको छ भने एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पनि कोटेश्वरबाट पक्राउ परिसकेका छन् । बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक लिन जेछियाङलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि हालसम्म पक्राउ पर्नेको संख्या दश पुगेको हो । सोही प्रकरणमा यसअघि ६ जना पक्राउ परिसकेका छन् । यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल  र चिनियाँ नागरिक लिन जेछियाङ  पक्राउ परिसकेका छन् ।  उच्च अदालत पाटनले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति समेत दिइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो । सो प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । यसैविच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको ब्रेक सुसहित १ सय ५५ किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया